बिहान जब सूर्य उदाउंछ
र यसका स्वर्णीम किरणले
टल्काउंछ मेरो सगरमाथा
माछापुच्छ्रे अनि कंचनजंघा।
त्यसैगरि जब टल्कन्छन
भञ्ज्याङका मानेहरू
अनि फांटका खेतमा टल्कन्छन
जसै धानबालामा शीतका थोपाहरू।
र म मख्ख पर्छु-देखेर मेरो सुन्दरता
र शान्त हुन्छु-जसै मेरी रारा
र म आनन्दित हुन्छु
जसै मेरा जोमसोम र मुस्ताङले सुसेली मार्छन।
तर जसै दिन सुरू हुन्छ
म सुन्छु ब्वांसाहरूको कोलाहल
जसलाई कत्तिपनि गर्व छैन मेरा हुनुमा
तब म कालभैरवझैं अशान्त बन्छु।
जसोतसो सांझ पर्दछ
अनि म टोलाउन थाल्दछु
हेरेर ती जेटहरू-जो गइरहेछन पारी पारी
बोकेर मेरा सपनाहरु-मेरा सपुतहरू।